दोस्रो किस्ताको लागि ९४.४ ले निवेदन दिएनन्

काठमाडौं- भूकम्पपिडितलाई दोस्रो किस्ता अनुदानका लागि निवेदन दिन तोकिएको समय भित्र ९४.४ प्रतिशतले निवेदन दिएका छैनन् । भूकम्प अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई दोस्रो किस्ता अनुदानका लागि निवेदन दिन तोकेको समयसीमा मंगलबार सकिएको छ। सहरी विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबार साँझसम्म दोस्रो किस्ताका लागि २५ हजार दुई सय ४६ जनाले निवेदन दिएका छन् । पहिलो किस्ताको ५० हजार रुपैयाँ लिने लाभग्राही संख्या पाँच लाख ४४ हजार नौ सय ९६ रहेको छ । तर,प्रथम किस्ता बुझेकामध्य दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राही करिब ४।६ प्रतिशत मात्र देखिन्छ । प्रथम किस्ताको अनुदान लिएर घर बनाउन थालेकालाई पुनर्निमाण प्राधिकरणले फागुन १२ मा चैत १५सम्म दोस्रो किस्ताका लागि आवेदन दिने समय तोकेको थियो । प्राधिकरणको कार्यविधिअनुसार प्रथम किस्ताको रकम लिएकाले घरको जग हालेर प्राविधिक परीक्षणबाट मापदण्ड पास भएपछि मात्र दोस्रो किस्ताका लागि निवेदन दिन पाउँछन् । दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राही सात हजार सात सय ३७ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अति प्रभावित १४ जिल्लाका लाभग्राहीलाई दोस्रो किस्ता वितरण गर्न १२ अर्ब रुपैयाँ निकासा भइसकेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । भुसालका अनुसार अपेक्षा गरे अनुसारको दोस्रो किस्ताको माग नआएको हो । प्रवक्ता भुसालले भने, ‘दोस्रो किस्ता वितरणमा समस्या नहोस् भनेर अग्रिम रकम निकासा गरिसकेका छौं । १२ अर्ब रुपैयाँ निकासा भई सम्बन्धित जिल्लामा गइसकेकाले दोस्रो किस्ता दिन रकमको समस्या छैन ।’ प्राधिकरणको सहयोगमा घर निर्माण गर्ने लाभग्राही तीन हजार एक सय मात्र छन् । तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राही एक हजार तीन सय ९ मात्र रहेको तथ्यांक छ । हालसम्म २० हजार तीन सय ४० जनाले घर निर्माण सम्पन्न गरेको तथ्यांक छ।त्यसमध्ये १७ हजार दुई सय ४० लाभग्राही आफैंले घर निर्माण गरेका हुन् ।
(No Comments)     March 29, 2017    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::