मेडिकल कलेज सञ्चालकलाई माथेमाले भने-पीडादायी हुन्छ सुधारको सुरुवात

२६ साउन, काठमाडौं ।  ‘८० वर्षका एक बूढा छन्। उनलाई तपाईंको छोरा बाँच्दैन भनिदिनुपर्नेछ। भर्खर काम थालेका युवा चिकित्सकले ती वृद्धलाई यस्तो कुरा कसरी सुनाउलान्?’ चिकित्सा शिक्षा र मेडिकल कलेजबारे गरमागरम बहसमा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक डा. केदारभक्त माथेमाले यो प्रश्न उठाउँदा हलमा सन्नाटा छायो। माथेमा भन्दै गए, ‘कोरा विज्ञानमा जति अब्बल ठहरिए पनि सामाजिक, मनोवैज्ञानिक र नैतिक विषय बुझेर परिस्थितिलाई त्यही रूपमा व्यवस्थापन गर्ने चिकित्सक हामीलाई चाहिएको छ। नेपालका मेडिकल कलेजबाट उत्पादित जनशक्ति यो मानवीय र सामाजिक भावनायुक्त छन् त?’ चिकित्सा विज्ञान पढ्ने जनशक्ति छनोटमा कहिल्यै प्राथमिकतामा नपरेको यो विषयलाई मूल आदर्श बनाएको कार्यदलको प्रतिवेदन तुहाउन लागिपरेका निजी मेडिकल कलेजका सञ्चालकबीचको अन्तर्क्रिया कार्यक्रमलाई यसले नयाँ मोड दियो। माथेमाले निजी कलेजका लगानी डुब्ला कि भन्ने चिन्ताभन्दा गुणस्तरीय चिकित्साका लागि गरिब तथा जेहनदार विद्यार्थी छनोटका आधार टेकेर प्रतिवेदन आएको दाबी गरे। नेपाल चिकित्सक संघले आयोजना गरेको अन्तर्क्रियाको मञ्चमा माथेमासहित कार्यदलका सदस्यहरु डा. मदन उपाध्याय र डा. रमेशकान्त अधिकारी थिए। अघिल्लो ‘रो’ मा उनीहरुसँग ‘फेस टु फेस’ हुने गरी बसेका अधिकांश निजी कलेजका सञ्चालक र मा बाँकी सदस्यद्वय डा. अर्जुन कार्की र डा. भगवान कोइराला थिए। उनीहरुसँगै थिए– मेडिकल कलेज सञ्चालकहरुका संघका अध्यक्ष डा. भोला रिजाल। रिजालका पछाडि नोबल मेडिकल कलेजका सञ्चालक सुनील शर्मा, विराट मेडिकल कलेजका सञ्चालक ज्ञानेन्द्रमानसिंह कार्की, गण्डकी र युनिभर्सल मेडिकल कलेजका सञ्चालक खुमा अर्याल र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कनौडिया थिए। पछिल्ला दिन चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदन तुहाउन लागिपरेका सञ्चालकहरुलाई ‘फेस’ गर्न आएका कार्यदलका सदस्य जति शान्त मुद्रामा देखिन्थे, त्यसको ठिकविपरीत निजी मेडिकल कलेजका सञ्चालकहरुको मुहारमा आक्रोश र छटपटी देखिन्थ्यो। कार्यक्रम आयोजक संस्था नेपाल चिकित्सक संघका महासचिव डा. मुक्तराम श्रेष्ठले सुरुमै मर्यादित पेसामा रहेका चिकित्सक र कलेज सञ्चालकलाई बोलीचालीको भाषालाई मर्यादित बनाउन आग्रह गरेपछि औपचारिक कार्यक्रम त्यही संहिताभित्रै डोहोरियो तर सञ्चालकहरुले प्रतिवेदनका सिफारिसको खुलेरै आलोचना गरेका थिए। निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष डा. रिजालले चिकित्सा क्षेत्र र चिकित्सक बदनाम बन्दै गएको भन्दै कलेजको विकास रोक्ने पक्षमा लाग्नेका मस्तिष्कमा ‘सैतानी भूत सवार’ भएको आरोप लगाएको नागरिकमा खबर छ ।
(No Comments)     August 11, 2015    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::