सुर्खेतमा अखण्ड माग्दा धादिङका मान्छे घाइते !

२५ साउन, काठमाडौं । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा धादिङका मान्छे घाइते भएपछि स्थानीय प्रशासनले आन्दोलनमा घुसपैठ भएको निश्कर्ष निकालेको छ । ‘सुर्खेतलाई अखण्ड राख्नुपर्छ भन्ने आन्दोलनमा धादिङका मान्छे कसरी घाइते भए ?’ एक सुरक्षा अधिकारीले अनलाइनखबरसँग भने, ‘आन्दोलन कसले गरेको हो भन्ने नै पहिचान गर्न गाह्रो भयो, बिहानसम्म एमालेका नेतासमेत जुलुसमा देखिएका थिए, दिउँसो उनीहरुकै कार्यालय तोडफोड भयो ।’ सुर्खेतमा कांग्रेस र एमाले लगायतले थालेको आन्दोलन उनीहरुकै विरुद्धमा केन्दि्रत भएको छ । घुसपैठ भएपछि सुर्खेतको आन्दोलनले हिंसात्मकरुप लिएको छ । प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका छन् । कांग्रेस र एमालेको कार्यालय तोडफोड गरेपछि कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको घर तोडफोड गर्न आन्दोलनकारीहरुले प्रयास गरे । यो घटनापछि एमाले र कांग्रेसका नेता आत्तिएका छन् । आफैंले थालेको आन्दोलन कसले हाँकिरहेको छ भन्नेमा एमालेका नेताले अनभिज्ञता प्रकट गरे । स्थानीय प्रहरीका अनुसार झडपका क्रममा घाइते भएकाहरु बाहिरबाट आएको खुलेको छ । घाइते भएका मध्ये एक धादिङका रामबहादुर श्रेष्ठ छन् । आन्दोलनले उग्र रुप लिएपछि सुर्खेतमा मध्यान्न १ बजेदेखि राति ९ वजे सम्मका लागि कर्फ्यू लगाइएको जिल्ला प्रशाशन कार्यालय सुर्खेतले जानकारी दिएका छ । सर्जक कांग्रेस-एमाले, बिसर्जक को ? दैलेख, सुर्खेत र जाजरकोटलाई सुदूरपश्चिमसँगै छैठौं प्रदेशमा राखेपछि एमाले, कांग्रेससहितका दलहरुको अगुवाइमा अखण्ड मध्यपश्चिमको आन्दोलन प्रारम्भ भएको हो । तर, केही घण्टामै यो आन्दोलनले उनीहरुकै पार्टी कार्यालय ध्वस्त बनाइदियो । नागरिक समाजको ब्यानरमा सुरु भएको आन्दोलनअन्तरगत सोमबार सुर्खेत बन्द थियो । तर, मध्याहृनबाट आन्दोलन हिंसात्मक भयो । हातमा बाँसका भाटा र लाठी बोकेका प्रदर्शनकारीहरुले आन्दोलनकारी दलकै कार्यालयमा तोडफोड र आगजनी गरे । ती को हुन् ? म चिन्दिँन : कँडेल ‘पार्टी कार्यालयमै थिएँ, उनीहरुले तोडफोड गर्न खोजेपछि आन्दोलनकारी नै हुँ, मैप्रति आक्रमण गर्ने को हो भनें ?’ एमाले पूर्वसभासद यमलाल कँडेलले अनलाइनखबरसँग भने-‘उनीहरु केही हच्किए । तर, को हुन्, म चिन्दिँन ।’ त्यतिबेलासम्म प्रदर्शनकारीहरुले कांग्रेस र एमाओवादीको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिसकेका थिए । त्यही भिडले जिल्ला प्रशासन कार्यालयसहितका सरकारी कार्यालयमा तोडफोड गरेको छ । लगत्तै कांग्रेस सहमहामन्त्री एवं सभासद पूर्णबहादुर खड्काको घरमा आक्रमण गर्न गए । प्रहरीको पटक-पटकको चेतावनीका बाबजुत प्रदर्शन हिंसात्मक भएपछि बाध्य भएर गोली चलाउनु परेको स्थानीय प्रशासनले बताएको छ । पार्टी तथा नेताको प्रतिशोध साँध्न खोजिएको आन्दोलनकारी नेताहरुले बताएका छन् । ‘म पनि अचम्म परेको छु । हिजोसम्म आन्दोलन शान्तिपूर्ण थियो । तर, आज आन्दोलनकारीकै कार्यालय प्रहरीको निशाना बनाइएको छ’ तोडफोड उत्रिएकाहरु धेरैलाई आफूले पनि नचिनेको भन्दै कँडेलले भने-‘अराजकता मच्चाउनेहरुको घुसपैठ देखिएको छ ।’ कँडेलले जुन उद्देश्यका लागि आन्दोलन भएको थियो, त्यसलाई डाइभर्ट गरेर संविधान नै बनाउन नदिने प्रयास भएको हुन सक्ने बताएका छन् । अब स्थानीय प्रशासन र राजनीतिक दलहरुले सम्वाद गरेर अघि बढ्ने कँडेलले बताए ।
(No Comments)     August 11, 2015    

 
 

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


 
  • Anamnagar, Kathmandu
  • Tel: +977-1-4240103
  • Email: info@eprofile.asia
Follow Us

    Copyright © 2015 ::Profile Media Pvt. Ltd.::